Logo
Logo

जित्ने र हार्ने मिलेर अगाडि बढ्नुपर्छ : पौडेल


378
Shares

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस भानु नगर समितिद्वारा आयोजित पदस्थापन कार्यक्रममा पौडेलले जीत र हारलाई स्वभाविकरुपमा लिएर एकता र सद्भावको यात्रा बढाउनुपर्नेमा जोड दिए । ‘जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जीत र हारलाई सहजरुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडि बढ्नुपर्छ’, पौडेलले भने– ‘तबमात्र कांग्रेस बलियो बन्छ ।’

लोकतन्त्र बचाउने भनेको कांग्रेसले मात्र भएको उल्लेख गर्दै कम्युनिष्टबाट लोकतन्त्र बच्न नसक्ने नेता पौडेलले जिकिर गरे । ‘देशमा लोकतन्त्र बचाउने काम कांग्रेसले जिम्मेवारीपूर्वक बहन गर्नुपर्छ, त्यसको अभिभारा कांग्रेसलाई आइपरेको छ’, उनले भने ।

सिंहदरबारका अधिकार गाउँगाउँमा आएको प्रसङ्ग उल्लेख गर्दै नेता पौडेलले कांग्रेसको नेतृत्वमा ल्याएको संविधानमाथि आक्रमण हुनसक्ने भएकाले परिवर्तन बचाउनका लागि अझै पनि सङ्घर्ष गर्न बाँकी रहेको उनको भनाइ रहेको छ ।

नेपालमा अझै पनि लोकतन्त्र सुनिश्चित नभइसकेको र लोकतन्त्रका लागि लडाई गर्न अझै बाँकी रहेको पौडेलले टिप्पणी गरेका छन् । ‘नेपाललाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ, त्यसकाविरुद्धमा कम्मर कसेर लाग्नुपर्छ’, उनले भने । एमाले जिम्मेवार प्रतिपक्ष बन्नुपर्ने नेता पौडेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्