काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालका सहयात्रीलाई पुनः एकताका लागि आह्वान गरेका छन् ।
पार्टीसम्वद्ध सम्पर्क समन्वय विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फरक–फरक रूपमा माओवादी जनयुद्धका सहयात्रीले खासरूपमा ज्ञान प्राप्त गरेकाले अब एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।
अध्यक्ष प्रचण्डले जनयुद्धकालका नेताहरू नेत्रविक्रम चन्द, मोहन वैद्य र डा बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल सुरु भएकोसमेत जानकारी दिएका छन् ।
जनता र पार्टी कार्यकर्ता ठीक ठाउँमा भएको र आफूहरू बिग्रिएको बताउँदै अब देश र जनताको हितका लागि पनि एकता गर्नुपर्नेमा उनको जोड थियो ।
उनले भने– ‘अहिले बाबुराम पनि ज्ञानी हुनुभएको छ, विप्लवजी पनि ज्ञानी हुनुभएको छ, म पनि ज्ञानी भएको छु । जनता र कार्यकर्ता बिग्रिएका होइनन्, उनीहरू ठीक ठाउँमा छन् । अब फर्केर आत्मसमीक्षा गर्दै जनतामाझ जानुपर्छ ।’ उनले नयाँ आधारमा ज्ञानसहित सबै कम्युनिष्टहरु नयाँ एकतामा आउने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले आफूले देश र जनताको हितलाई केन्द्रमा राखेर नेकपा एमालेसँग पार्टी एकता गरेको भए पनि केपी ओलीका कारण त्यो सम्भव नभएको उल्लेख गरे । एमालेसँग पवित्र उद्देश्यका साथ एकता गरेको भए पनि केपी ओली छलछाम, धोकाधडीको खेल खेल्ने भएकाले ओलीले कम्युनिष्ट आन्दोलन र मुलुक सङ्कटमा पारेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।
अवस्था ठिक नदेखेपछि आफूहरुले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपरेको उल्लेख गर्दै उनले आफू कुनै पनि पदको लोभमा नपरेको बताए ।
अध्यक्ष दाहालले एमालेले फैलाएको भ्रमको पर्दाफास गर्दै जनतालाई सही र तथ्यपूर्ण सूचना दिन तथा जनतालाई एकीकृत गर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।