Logo
Logo

‘कम्युनिष्टको आचरण र नैतिकताले दिने जुनसुकै काम गर्न मिल्छ’


1.8k
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल कम्युनिस्टको आचरण र नैतिकताले दिने जुनसुकै काम गर्न मिल्ने बताएका छन् ।

ललितपुरको गोदावरीमा आज तेस्रो दिन एमालेको विधान महाधिवेशन जारी छ । विधान महाधिवेशनमा सांगाठनिक प्रतिवेदन पेश गरेका महासचिव पोखरेलले विभिन्न समूहबाट आएको सुझाव पश्चात जवाफ दिँदै यस्तो बताएका छन् ।

पार्टी तथा संगठन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै उनले चार वटा कुरालाई ख्याल गरेर जुनसुकै काम गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । प्रतिनिधि तहबाट आएका सुझाव समेट्न र व्यवस्थित गर्नका लागि एउटा टिम बनाइएको र त्यो टिमले सबै खालका सुझाव व्यवस्थित गर्ने र ग्रहण गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

हिजो कुनैबेला पूर्णकालीन कार्यकर्ता भनेपछि त्यो नै सबैभन्दा ठूलो मापदण्ड रहेको चर्चा गर्दै महासचिव पोखरेलले भने, ‘अहिलेको परिवेशमा उत्पादन र श्रमसँग गाँसिदैनौं भने हाम्रो पंक्ति स्खलित हुन सक्छ । त्यसैले जुनसुकै काम गरे हुन्छ । तर चारवटा कुरालाई ख्याल गर्नुपर्छ ।’

उनका अनुसार राज्यको कानूनले अनुमति दिएको जुनसुकै काम गरे हुन्छ । त्यस्तै, समाजका अग्रगामी मूल्य मान्यताको पक्षमा रहेका जुनसुकै काम पार्टीका कार्यकर्ताले गरे हुन्छ । त्यसैगरी कम्युनिस्टको आचरण र नैतिकताले दिने जुनसूकै काम गरे हुन्छ । चौथोमा उनले पारदर्शी हुने जुनसुकै काम गरे हुने प्रस्ट पारेका छन् ।

उनले अब पुस्ताहरुबीचको कम्पोजिसन जरुरी रहेको पनि बताउँदै भने, ‘योजनावद्ध कम्पोजिसन भएन भने बुढाबुढामात्र एकातिर थुप्रिने अवस्था आउँछ, त्यो भयो भने पार्टी नेतृत्व कहाँ पुग्छ ?’

प्रतिक्रिया दिनुहोस्