काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आगामी नेतृत्वको रुपरेखा तय गर्दै आइतबार सम्पन्न भएको छ । महाधिवेशनले अध्यक्षसहित १५ पदाधिकारी र ४५ सदस्यीय स्थायी कमिटी बनाउने निर्णय गरेको छ ।
पहिलो पटक आयोजित विधान महाधिवेशनमा धेरैभन्दा धेरै प्रतिनिधि ल्याएर छलफल गरिएको भए पनि हलबाट आएका सुझावमध्ये आधाजतिलाई मात्रै सम्बोधन गरेर विधान पारित भएको छ ।
आगामी निर्वाचनलाई समेत लक्षित गरेर पदाधिकारीको संख्या हेरफेर गरिएको छ । नवौं महाधिवेशनबाट दुई वरिष्ठ नेताको पद तय गरिएको थियो, यसपटक हटाइएको छ । उपमहासचिव दुईजना भएकोमा अब एकजनामात्रै रहनेछन् । अहिलेको संशोधित विधानमा वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरिएको छ ।
पाँच सचिवबाट बढाएर सात सचिव बनाइएको छ । यसअघि हलमा ६ सचिव प्रस्ताव गरिएको थियो । हलबाट सात उपाध्यक्ष, सात सचिव तथा तीन उपमहासचिवको व्यवस्था गर्न सुझाव दिइएको भए पनि नेतृत्वले त्यसलाई बेवास्ता गरिदिएको छ ।
गाउँपालिका प्रमुख, उपप्रमुखसहित जननिर्वाचित प्रतिनिधिहरूलाई समेत महाधिवेशनको प्रतिनिधि बनाएर आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरूमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक सङ्गठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटीलाई निर्देशन दिँदै विधान महाधिवेशनले केन्द्रमा चुस्त कमिटी बनाउने भनेर पोलिटब्युरो खारेज गरेको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।