काठमाडौं । नेपाली कांग्रेस चौधौँ महाधिवेशनको पूर्वसन्ध्यामा आइपुगेको छ । वडादेखि जिल्ला तहका अधिवेशन चलिरहेका छन् । जिल्ला तहको निर्वाचन हुँदै गर्दा प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन हुन्छन् । यी दुवैखालका प्रतिनिधि चयनले प्रदेश महाधिवेशन र केन्द्रीय महाधिवेशनलाई सुनिश्चित गर्छ ।
जुन सुस्त गतिमा वडादेखि जिल्लासम्मका अधिवेशन चलिरहेका छन्, कार्यकर्तामाझ अझै पनि महाधिवेशनका विषयमा संशय छ । हिमाली जिल्लाका अधिवेशन सुरु गर्दै गर्दा निर्धारित समयमा अधिवेशन हुनेमा ढुक्क हुने भन्दा अरू बाँकी जिल्लामा जाडोमा अधिवेशन हुने र महाधिवेशन कतै हिउँदपछि हुने त होइन भन्ने शंका गर्नेहरू देखिन थालेका छन् । अन्तिम समयमा पटक पटक मिति सार्ने प्रवृत्तिले गर्दा ढुक्क हुने अवस्थामा कार्यकर्ता छैनन् ।
अर्को कोणबाट हेर्ने हो भने महाधिवेशन समयमा गराउनका लागि हिमाली जिल्लामा सुरुमा नै अधिवेशन गराइएको पनि मान्न सकिन्छ । पहाड र तराईका जिल्लामा दसैँ तिहारका बीचमा जिल्ला अधिवेशन टुंग्याउँदा निर्धारित समयमा नै प्रदेश र केन्द्रीय महाधिवेशन गर्न सम्भव नहुने छैन ।
अब अधिवेशन नगर्नका लागि विवाद गर्ने विषय टुंगिदै गएका छन् । सम्बन्धित जिल्लाले चासो दिने हो भने अबका निर्वाचन रोकिनुपर्ने कुनै कारण छैन । अब गर्न सकिने विवाद भनेको चाडवाड र मौसमका नाममा मात्र हो। सदस्यता र निर्वाचन प्रक्रियाका बारेमा कुनै विवादको अब गुञ्जायस छैन ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।