Logo
Logo

सरकार फेरिएसँगै योजना र नीति फेरिने परिपाटी नै समस्या : अर्थमन्त्री


252
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ ले समग्र अर्थतन्त्र, सुशासन र मानव जीवनलाई प्रभावित बनाएको बताएका छन् ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले विकास लक्ष्य एवं योजनामा ठूलो सुधारकोे चुनौती र आवश्यकता रहेको बताए ।

अर्थमन्त्री शर्माले भने, ‘विकास रणनीति, लक्ष्य निर्माण एवं कार्यान्वयन आफैँमा अन्तरविरोधी छन्, सरकार र मन्त्री परिवर्तन भएसँगै योजना र नीति फेरिँदै जाने खाले परिपाटी यो नै सबैभन्दा ठूलो समस्या हो ।’

संविधानअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आत्मसात् गरेको समाजवादोन्मुख अर्थतन्त्र कस्तो हो भन्ने चित्र नै नरहेको उनको भनाइ छ ।

उनले संविधानमा उल्लेख गरेको विषय हाम्रा योजना र कार्यक्रमा नसमेटिएको बताए । उनले भने, ‘जनताले पनि बुझ्ने स्पष्ट विकासको चित्र आवश्यक छ, कुन योजना कति, कसरी कार्यान्वयन गर्ने भन्ने साझा रणनीति खाका बनाउन पर्छ, योजना निर्माणलाई पनि अनुशासनभित्र ल्याउन प¥यो ।’

उनले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र मुलुकको अहिलेको मुख्य लक्ष्य भएको बताए । समावेशी विकास मूल नीति बनाएर अघि बढ्नुको विकल्प नरहेको उनको धारणा थियो ।

महालेखा परीक्षक टङ्कमणि शर्माले मितव्ययी, दक्षता र प्रभावकारिताको कसीमा रहेर सङ्घ, प्रदेश र स्थानीय तहको लेखापरीक्षण गरिएको जानकारी दिए ।

उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा सङ्घका तीन हजार, प्रदेश कार्यालय एक हजार, स्थानीय तह ६९९ र केही सङ्गठित संस्था गरी पाँच हजार ४६२ कार्यालयको रु ५३ खर्ब २७ अर्बको लेखापरीक्षण भएको छ ।’

प्रतिक्रिया दिनुहोस्