Logo
Logo

सत्तारुढ गठबन्धनबीच भागबण्डा मिल्यो, भोलि नै मन्त्रिपरिषद् विस्तार


16.1k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रालयको बाँडफाँड टुंगो लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ८६ दिनपछि सत्तारुढ दलका नेताका बीचमा मन्त्रालयको भागबण्डा टुंगो लागेको हो ।

शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६ तथा नेकपा (एकीकृत समाजवादी) र जसपाले ४÷४ वटा मन्त्रालय पाउनेछन् । तीन दलले १÷१ राज्य मन्त्रीसमेत पाउने सहमति भएको छ ।

दलका नेताहरुबीच सहमति जुटेसँगै शीर्ष नेताहरु मन्त्रीको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार मन्त्रीको नामावली दलहरुले टुंगो लगाएसँगै दुई तीन दिनभित्रैमा मन्त्रिपरिषद विस्तार हुनेछ ।

‘मन्त्रालयबारे सहमति जुटेको छ, हामी मन्त्री हुनेको नामावली टुंगो लगाउने गृहकार्यमा छौं । अब क्याविनेट छिट्टै विस्तार हुन्छ’ एक नेताले भने ।

गठबन्धनका एक नेताका अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ ।

त्यस्तै, माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरीबी निवारण र खानेपानी मन्त्रालय लिनेछ । एकीकृत समाजवादीले कानुन, शहरी विकास, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटन मन्त्रालय पाएको छ ।

यस्तै जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण पाउनेछ ।

हाल कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् भने माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन् ।

प्रधानमन्त्री देउवाले कानुनमन्त्री कार्कीलाई स्वास्थ्यमन्त्री बनाउने तयारी गरेका छन् । तर कार्कीले भने रक्षा मन्त्रालयमा आकांक्षा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्