एमपी सुब्बा
‘गीतसंगीत मनोरञ्जनको माध्यम हो’, समाजमा यही सोचाइ व्याप्त छ । तर, गीतसंगीत सामाजिक सेवाका लागि प्रभावशाली माध्यम बन्दोरहेछ भन्ने एक उदाहरण गायक तथा समाजसेवी पुर्ण फावेन लिम्बूले पेस गरेका छन्, जो १३ वर्षदेखि गीतकै माध्यमले सामाजिक सेवामा सक्रिय छन् ।
गायक तथा समाजसेवी लिम्बूलाई झट्ट हेर्दा लाग्छ, ‘यी भूतपुर्व लाहुरेको जीवन मोजमस्तीमा बितिरहेको छ ।’ लाहुरे परिवारमा देखिने बनावटी संस्कृति पनि हो यो । तर, यी भूतपुर्व बेलायती लाहुरेको र सोचाइ र भोगाइ भने फरक छ । लाहुरबाट ‘रिटायर्ड’ भएको ठ्याक्कै १३ वर्ष पुग्यो । तर, उनी सेनामा भन्दा अहिले बढी व्यस्त छन् ।
१६ वर्षे कुर्कुरे उमेरमा लाहुर भर्ती भएका उनले २८ वर्ष बेलायतको सेवा गरे । त्यो बिचमा के–कस्ता दिनहरु भोगे ? त्यो उनीसँगै छ । तर, हालको व्यस्तताबारे लिम्बू भन्छन्, ‘जब लाहुरबाट रिटायर्ड भएँ, तब आफ्नो समाजका लागि केही गरौँ भन्ने भावनाले नेपाल फर्किएँ । रिटायर्ड भएको १३ वर्ष भयो । सामाजिक सेवामा लागेको पनि त्यति नै ।’
लाहुरे जीवनमा सन् १९८२ मा फोक्ल्याण्डको युद्धदेखि लिएर अफगानिस्तासम्म र बोजनियाँदेखि सेरालियनसम्म शान्ति स्थापनार्थ खट्दा मानवजीवनमा आइपर्ने दुःख–पीडा नजिकबाट नियाल्ने अवसर पाएका लिम्बू भन्छन्, ‘जतिखेर लडाइँको मैदानमा दुश्मनसँग लडिरहेको थिएँ, त्यतिखेरै मातृभूमिप्रति केही गर्ने सोच पलाएको थियो ।’
गायक लिम्बूले गायनमार्फत समाज सेवा गर्दै आएको बताए । उनले भने, ‘गीत गाउँछु र भिडियो निर्माण गरेर च्यारिटी गरेपछि संकलित रकमलाई समाजसेवामा लगाउँदै आएको छु ।’ उनको यस कदमले ‘भूतपूर्व लाहुरेको जीवन मोजमस्ती र ऐसआराममै बित्छ’ भन्ने धारणालाई गलत सावित गरेको छ ।
हुन पनि एउटा लाहुरेको जीवन, जसले आफ्नो आधा उमेर बन्दुक र बारुदसँगै बिताएको हुन्छ । त्यसैले ‘रिटायर्ड लाइफ’बारे उसले सोच्छ, ‘दुश्मनको गोलीबाट उम्किएको बाँकी जीवन मोजमस्तीमै बिताउनेछु ।’ तर, लिम्बूमा त्यो सोच पलाएन । सानैदेखि गायक बन्ने सपना बोेकेका उनले युद्ध मैदान हुँदै समाज सेवाप्रति आफूलाई जागृत तथा उत्प्रेत गराएका थिए ।
उमेरले आधा शताब्दी पार गरेका उनी सन् २००८ मा बेलायती सेनाबाट ‘रिटायर्ड’ भएका थिए । त्यसपछि आफ्नो जन्मथलो संखुवासभाको मैदाने फर्किए । र, सामाजिक सेवामा सक्रिय भए । अहिले उनी गायक, गीतकार तथा समाजसेवीका रुपमा पुर्वमा चर्चित छन् ।
गीतसंगीतलाई मनोरञ्जनको साधनमात्र भन्नेहरुका अगाडि उनी पुरै विमत छन् किनकि, उनी समाजकै लागि गाउँछन्, लेख्छन् र भिडियोमा उर्ताछन् । गोरखा वेलफेयर ट्रस्टको ‘सिनियर एरिया अफिसर’को जिम्मेवारी पदमा रहेर पुर्वी नेपाललाई आधार क्षेत्र बनाउँदै आएका लिम्बू भन्छन्, ‘गीतसंगीतलाई कहिल्यै मनोरञ्जनको साधनमात्र ठानिनँ । मैले सिर्जना गर्ने गीतहरु पनि समाजप्रति समर्पित हुन्छ ।’
‘रिटायर्ड’ भएलगतै ‘गोरखा वेलफेयर ट्रष्ट’मा आवद्ध भएका उनी लाहुरेका परिवारजनको रहन–सहन र जीवनशैली बुझ्न गाउँगाउँ घुम्न गर्छन् । त्यही क्रममा गाउँ–पाखाका पीडाबोध गर्ने अवसर पाएका लिम्बूले असाहय, अपांग र दुखीका लागि विभिन्न किसिमका सहयोग गर्दै आएका छन् । उनी आवद्ध ‘गोरखा वेलफेयर ट्रष्ट’ले भूतपुर्व ब्रिटिस आर्मीका परिवारलाई मात्र शैक्षिक तथा भौतिक पुर्वाधारको क्षेत्रमा सहयोग गर्छ । त्यसैले उनले नीजि संस्था ‘डिफ्रेन्ट आई’ स्थापना गरेर समाजिक सेवा गर्दै आएको बताए ।
लाहुरे जीवनमा सन् १९८२ मा फोक्ल्याण्डको युद्धदेखि लिएर अफगानिस्तासम्म र बोजनियाँदेखि सेरालियनसम्म शान्ति स्थापनार्थ खट्दा मानवजीवनमा आइपर्ने दुःख–पीडा नजिकबाट नियाल्ने अवसर पाएका लिम्बू भन्छन्, ‘जतिखेर लडाइँको मैदानमा दुश्मनसँग लडिरहेको थिएँ, त्यतिखेरै मातृभूमिप्रति केही गर्ने सोच पलाएको थियो ।’
उनी सानैदेखि गीतसंगीत भनेपछि हुरुक्कै हुन्थे । तर, गायक बन्ने उमेरमा गाउँकै गल्लाबाट लाहुरे हिँडे । विगतलाई स्मरण गर्दै उनले भने, ‘१६ वर्षकै उमेरमा ब्रिटिस आर्मीमा भर्तीमा भएको हुँ । तर, मलाई लाहुरे हुने रहर थिएन । बाबु पनि लाहुरे भएकाले ‘लाहुरेका छोरा लाहुरे नै हुनुपर्छ’ भन्ने घरायसी दवाबले भर्ती गएको हुँ ।’ अहिले पनि लाहुरे समाजमा यही संस्कार छ । त्यसैले पुर्वी नेपालका अधिकांश राई, लिम्बूका घरमा ‘लाहुरे’ भेटिन्छन् ।
यी भूतपुर्व ब्रिटिस आर्मीको गायन र गीति लेखन कुनै व्यवसायिक कलाकारको भन्दा कम छैन । उनले ‘फरक मान्छे’, ‘सानो माया’, ‘आमा’, ‘यी आँखाले’, ‘चाँदनी रात’जस्ता समाजमुखी गीतहरु गाएका छन् । ती सबै चर्चित छन् । अञ्जु पन्त, मेलिना राई जस्ता चर्चित गायिकासँग युगल गाइसकेका लिम्बूले भने, ‘यी गीतहरुको भिडियोमार्फत वास्तविक पीडामा छट्टपटिएका दुःखी, अपांग र असाहयका आवाज बुलुन्द गरेको छु । जसबाट सहयोग पनि मिलेको छ ।’
स्वास्थ्य, शिक्षा र रोजगारीलाई आधार बनाएर समाजसेवा गर्दै आएका लिम्बूले भने, ‘नेपालमा सन्दर्भमा सबैभन्दा आवश्यकता पनि यही हो ।’
बेरोजगारी नेपालको मुख्य समस्याको रुपमा देखेका लिम्बूले रोजगारी सिर्जना गर्नकै लागि विभिन्न निःशुल्क सिपमूलक तालिमहरु सञ्चालन गर्दै आएका छन् । महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले पछिल्लो समय संखुवासभाको चैनपुरमा तीन महिने निःशुल्क ढाका बुनाइ तालिम सञ्चालन गर्दै आएका उनी भन्छन्, ‘हरेक व्यक्तिले आफूले जानेको सिप तथा कलालाई सेवाभावमा खर्चियो भने सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारामा केही भएपछि टेवा पुग्नेछ ।’