काठमाडौं । उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि समेत अभाव हुन नदिन उत्तरी नाकाबाट ल्याउन लागिएको युरिया मल नाका अवरोधका कारण रोकिएको हो ।
सिल्क मार्केट नामक नेपाली कम्पनीले १० हजार मेटन युरिया मल १० दिनअघि ल्हासा पार गराएर सिगात्से भन्ने स्थानमा ल्याइपुर्याएको भए पनि नाकामा भएको असहजताका कारण नेपाल भित्र्याउन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेडले १० हजार मेटन युरिया र ५ हजार मेटन डीएपीसहित कुल १५ हजार मेटन रासायनिक मल उत्तरीनाकाबाट ल्याउन लागेको भए पनि ५ हजार मेटन डीएपी भने नाकामा आइपुग्न अझै केही दिन समय लाग्ने भएको छ ।
कम्पनीले यसअघि दिएको जानकारीअनुसार असोज अन्तिम सातासम्म सबै मल विक्रेताको डिलरसम्म पुर्याइसक्ने योजना थियो । तर, मल नाकामै रोकिएपछि विक्रेता कहाँसम्म पुग्न अझै समय लाग्ने देखिएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।