काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि बैठक बस्न लागेको हो ।
सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको लगभग भागबण्डा मिलिसकेको छ । जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनबीच भागबण्डामा सहमति भएपछि सम्भवत ः आजै मन्त्रिपरिषदलाई पूर्णता पाउने अपेक्षा गरिएको छ ।
मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भएर मोटामोटी सहमति भएको थियो । त्यसक्रममा काँग्रेसले ७, माओवादी केन्द्रले ६ र समाजवादी र जसपाले चारचार वटा मन्त्रालय पाउनेगरी कुराकानी भएको थियो । तर, एकीकृत समाजवादीले आफ्नो भागमा थोरै मन्त्रालय भाग लगाएको भन्दै असन्तुष्टि जनाएकाले आज पुनः बैठक बस्न लागेको समाजवादीका एक नेताले बताए । उनले भने, ‘केही कुरा मिलाउन बाँकी रहेकाले मन्त्रिपरिषद विस्तार अघि गठबन्धनबीच छलफल हुन लागेको हो ।’