काठमाडौं । नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् ।
बिहिबारदेखी सुरु भएको एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका छन् । बैठक सुरु हुनुभन्दा अघि एमाले नेता भानुभक्त जोशीलाइ एकीकृत समाजवादी पार्टीमा प्रबेश गरेका छन् । पार्टीमा जोशीलाई स्वागत गर्दै उनले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको बताए ।
एमाले सबै हिसावले पतनको दिशामा गएको निष्कर्ष सुनाउँदै अध्यक्ष नेपालले एमाले सामुहिक नभएर एक व्यक्तिको कम्पनी जस्तो भईसकेको बताए । एमाले समुहिक नभई ओलीको प्राइभेट कम्पनी जस्तो भइसकेको उनले बताए ।
‘एमाले विधान महाधिवेशनको नाममा भेला गरिएका मानिसहरुको जमात त्यहाँ अघि सारिएका मान्यताहरु सबै चिजहरू देखेर भानुभक्त जोशी पार्टी परित्याग गरेर एकीकृतमा प्रवेश गर्नुभयो, नयाँ यात्रामा प्रवेश गर्नुभएको छ, यसमा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले सिर्जना गर्नेछन्, केपी ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका छन्, च्युत भइसकेको अब औपचारिक रुपमा दिन हेर्न मात्रै बाँकी छ’ अध्यक्ष नेपालले भने ।
उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी पार्टी रोजेको बताए । अध्यक्ष नेपालले नेता जोशीलाई एकीकृत समाजवादीको स्थायी कमिटी सदस्यमा लैजाने घोषणा समेत गरेका छन् ।
एकीकृत समाजवादी पार्टी प्रवेश गरेका जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले एमाले परित्याग गरेको बताए । जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रीय कमिटीबाट राजीनामा दिएको स्पष्ट पारे ।
‘१० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नगरिँदा, आमनेता कार्यकर्ताको मन भाँचिएको छ, पार्टी एकताका लागि कोशे ढुंगाको रुपमा रहेको १० बुँदे सहमति नगरिँदा र पार्टीमा फेरि आग्रह पूर्वाग्रहको यथावत रहेको महशुस भएकोले राजीनामा दिइ एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ, म इमान्दारीपूर्वक र क्षमताले भ्याएसम्म आजकै दिनबाट पार्टीको काममा लाग्नेछु’ जोशीले भने ।