काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीको सचिवालयले हमालले राजीनामा दिएको पुष्टि गरेको छ ।
आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन् । २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिने घोषणा गरेका थिए ।
मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालको भनाई छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार राजीनामा बुझाउँदै हमालले भनेका छन्, ‘संविधान र कानूनी राज्यका पक्षमा लामो लडाइँ लड्दै आएको व्यक्ति भएकाले अहिले संविधानमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्दा पदमा बसिरहन उपयुक्त लागेन ।’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि हमालले आफु विवादमा पर्न नचाहेको भन्दै मिडियामा राजीनामा दिने घोषणा गरेका थिए । हमाल देउवा निकट हुन् भने नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।