काठमाडौं । उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएका छन् । शुक्रबार मात्रै मन्त्री नियुक्त भएका उनले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्री देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि विवादमा पर्न नचाहेको भन्दै पदबाट राजीनामा गरेको हमालको भनाई छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार राजीनामा बुझाउँदै हमालले भनेका छन्, ‘संविधान र कानूनी राज्यका पक्षमा लामो लडाइँ लड्दै आएको व्यक्ति भएकाले अहिले संविधानमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्दा पदमा बसिरहन उपयुक्त लागेन ।’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि हमालले आफु विवादमा पर्न नचाहेको भन्दै मिडियामा राजीनामा दिने घोषणा गरेका थिए । हमाल देउवा निकट हुन् भने नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।