काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताएका हुन् ।
पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उनले सकेसम्म एकता गरी सर्वसम्मत नेतृत्व चयन र नसकेमा प्रजातन्त्रिक प्रणालीबाट सौहार्द रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । जित हारपछि पनि जित्ने मातिन नहुने र हार्ने आत्तिन नहुने उल्लेख गर्दै उनले पार्टीमा एकता र सद्भाव जरुरी रहेको बताए ।
प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले पार्टीमा लामो समयसम्म योगदान गर्नुभएको र उहाँले पार्टीबाट लिनेभन्दा पनि दिने काम गर्नुभएको भन्दै सभापति देउवाले आचार्यको योगदानलाई पार्टीले सधैँ सम्मान गर्ने धारणा राखे ।