विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छल्दै राजनीतिक नियुक्तिमा जोड दिएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एकै पटक २२ जनालाई नियुक्ति दिएको छ ।
प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति दिइएको छ । फणिन्द्र अधिकारी, देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थापा र इन्दिरा श्रेष्ठलाई पर्यटन बोर्डमा नियुक्त गरेको छ ।
प्रदेश खेलकुद विकास बोर्ड गठन गर्दै प्रदेश सरकारले पाँचथरका बाबा मेयाङ्वोलाई उपाध्यक्ष बनाएको छ । बोर्डको सदस्यमा भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारी सदस्यमा नियुक्त भएका छन् । सदस्य सचिवमा परशुराम बस्नेतले नियुक्ति पाएका छन् ।
सरकारले प्रदेश श्रम सल्लाहकार समिति पनि गठन गरेको छ । राजीव घिमिरेले उपाध्यक्षको जिम्मेवारी पाएका छन् । भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रज्जु सिग्देल, किशोर धमला, अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टीका प्रसाईँ र निलम साह सुनार सदस्यमा नियुक्त भएका छन् ।
संघीय सरकारबाट बाहिरिने क्रममा केपी शर्मा ओली नेतृत्वको सरकारले मनपरी नियुक्ति गरेकै झल्को दिनेगरी प्रदेश १ सरकारले पनि नियुक्ति बाडेको हो । विपक्षी दलले भने यसको विरोध गरेका छन् ।