काठमाडौं । एनसेलले जस्तै कोकाकोलाले पनि अरबौं कर छली गरेको प्रष्ट भएपनि छानबिनमा चलखेलले मुद्दा दायर हुनेमा आशंका व्यक्त हुन थालेको छ । राजश्व अनुसन्धान विभागले गरेको छानबिनमा सो कम्पनीले करिब १२ अर्ब रुपैयाँ कर छली गरेको प्रष्ट भइसकेको छ । मुद्दाको अनुसन्धान गत बैशाखमै अन्तिम चरणमा पुगेपनि अहिले थप अनुसन्धान प्रक्रिया रोकिएको छ ।
कोकाकोलाको स्थानीय बोटलिङ कम्पनी, बोटलर्स नेपाल लिमिटेडको ७६ प्रतिशत सेयर विदेशमा नै किनबेच गरी कर छली गरेको हो । विभागले सो कम्पनीका उच्च पदस्थसँग बयान समेत लिइसकेको छ । नेपाल राष्ट्र बैंकले सो कम्पनीलाई लाभांस लैजान समेत रोक लगाइसकेको छ ।
बोटलर्स नेपालको स्वामित्व दुबईस्थित साउथ वेस्ट होल्डिङ्स लिमिटेड (साब्को)ले कोकाकोलाको मुल कम्पनीलाई शेयर बेचेको पुष्टि भइसकेको छ । त्यसरी बिक्रि गर्दाको आयकर तिरिएको छैन । त्यसबारे नेपालमा उद्योग विभाग लगायत कुनै नियकालाई जानकारी समेत दिइएको छैन ।
कोकाकोलाजस्तै अर्को पेप्सीको नेपालस्थित बोटलिङ कम्पनी, वरुण वेभरेज नेपालले ६४ करोड रूपैयाँभन्दा बढीको मूल्य अभिवृद्धि कर (भ्याट) छली प्रकरणका विभागले मुद्दा दायर गरिसकेको छ । वरुण वेभरेज (नेपाल) सञ्चालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह तथा अशोक कुमारविरुद्ध मुद्दा दायर भइसकेको छ । सो कर छली प्रकरणमा वरुण वेभरेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन अग्रवाललाई उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिइसकेको छ ।
बोटलर्स नेपालका व्यवस्थापकहरूले पनि स्वामित्व किनबेच भएको स्वीकार गरिसकेका छन् । कारोबारबाट माउ कम्पनी कोकाकोला एटलान्टाले अन्तर कम्पनी कारोबारका माध्यमबाट नेपालबाट लाने गरेको रोयल्टी र अन्य बिक्री कारोबारबाट प्राप्त हुनुपर्ने राजस्व गरी करिब १२ अर्ब कर छली गरेको निष्कर्षमा विभाग पुगेको छ ।
तर, हालै सेटिङमा विागको महानिर्देशक भएका प्रकाश पौडेलले मुद्दा नचलाउने उपाय खोजिरहेको स्रोत बताउँछ । सो कम्पनीका बिचौलियाहरुले अहिलेको सरकारसँगै सेटिङ मिलाएर मुद्दा रोक्न प्रयास गरिरहेका छन् ।