काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार पुनः प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिएपछि प्रधानमन्त्री देउवाले पुनः उक्त मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका हुन् । देउवाको नेतृत्वमा सरकार गठन भएपछि ८८ दिनसम्म उक्त मन्त्रालय देउवाले नै सम्हाल्दै आएका थिए ।
पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार हुँदा हमाल उक्त मन्त्रालय सम्हाल्नेगरी मन्त्री भएका थिए । शक्तिपृथकीकरणको सिद्धान्तविपरीत प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएपछि हमालले पदबाट राजीनामा दिएका थिए । त्यसपछि मन्त्रीविहीन भएको उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हालेका हुन् ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेपछि प्रधानमन्त्रीले उक्त जिम्मेवारी पाएका हुन् ।
केही दिनका लागि प्रधानमन्त्रीले नै उक्त मन्त्रालय सम्हाले पनि दशैं पछि भने काँग्रेसकै कोटाबाट नयाँ मन्त्री नियुक्त हुनेछन् ।