पाँचथर । अकबरे खुर्सानी खेतीको पकेट कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपछि याङवरक गाउँपालिका–३ ओयामका शैमेन्द्र सेलिङसहित तीन युवाले गत जेठमा लहलह भएको मकैका बोट काट्न थाले ।
तेह्र रोपनी खेतमा सुत्ला च्यापेको मकैका बोट धमाधम काटेको देखेपछि छिमेकीहरुले उनीहरुलाई ‘बहुलाएछन्’ भने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्राप्त हाते ट्र्याक्टरले गाउँमै पहिलो पटक उनीहरुले जोते । याङवरक–६ नागीमा अकबरे खुर्सानीका बिरुवा पाएपछि उनीहरुले लगेर रोपण गरे । ‘तीन दिनसम्म खुर्सानीका बिरुवा हरियो नफिर्दा छिमेकीहरुले साँच्चै भनेकी के हो जस्तो लागेको थियो’, विगत सम्झँदै सेलिङले भने, ‘विरुवा बाँच्नेजस्तो भएपछि अलिअलि सास आयो ।’
त्यसपछि खुर्सानीका बिरुवा लहलह बढे । सेलिङको समूहले गाउँपालिकाका कृषि प्राविधिकहरुसँग निरन्तर परामर्श गरी खेती गर्याे । आफैँ लगानी गरेर गोठ सुधार गर्याे । गाई भैँसीको मुत्र तथा झोल मल प्राविधिक सल्लाहअनुसार बिरुवामा लगाएपछि खुर्सानी फल्न थाल्यो । अब उनीहरुमा छिमेकीले भन्न थाले, ‘खुर्सानी त फलायौ, बिक्री गर्न गाह्रो छ ।’ बजार पाउने/नपाउने चिन्ताले उहाँहरुलाई पिरोल्न थाल्यो । हुँदा–हुँदै भदौ अन्तिमदेखि खुर्सानी पाक्न थाल्यो । गाउँपालिकाका प्राविधिकसहित याङवरक–६ मा खुर्सानी खेती गरेकाहरुसँग उहाँहरुले सम्पर्क गरे । सेलिङको समूहले १३ रोपनी क्षेत्रफलमा लगाएको खुर्सानी दुई पटक टिपेर बिक्री गरिसकेको छ ।
‘२५० रुपैयाँदेखि २८० रुपैयाँ किलोका दरले ७०० किलो खुर्सानी बेचिसक्यौँ’, सेलिङले भने, ‘अझै दुई/तीन पटक बिक्री गर्न सकिन्छ होला ।’ खुर्सानी बेचेर सेलिङको समूहले आकर्षक आम्दानी गरेको देखेपछि अहिले उनका छिमेकीहरु सबै खुर्सानी खेती गर्छौँ भन्न थालेका छन् । ‘अहिले त सबैले म पनि रोप्छु भन्न थालेका छन्’, सेलिङले भने, ‘यस प्रकारको उत्साह आएपछि अब अकबरे खुर्सानी खेतीमा हामी व्यक्तिगतरूपमा अरुलाई सहयोग गर्छौँ ।’ सहज बजार पहुँचका लागि एक टिपाइमा एक पिकअप खुर्सानी भर्ने लक्ष्यले सेलिङको समूह अगाडि बढेको छ । एक पिकअपमा २० क्विन्टल (दुई हजार किलोग्राम) लोड हुन्छ ।
सेलिङ मात्रै होइन, याङवरक–३ का ३० जनाभन्दा बढी कृषकका छ वटा समूहले अहिले व्यावसायिक अकबरे खुर्सानीको खेती गरेका छन् । विगतमा कहिल्यै यस प्रकारको व्यावसायिक उत्पादन नभएको ओयाममा पहिलो वर्ष नै प्रशस्त खुर्सानी फलेको हो । याङवरक गाउँपालिकाले सङ्घीय सरकारसँगको साझेदारीमा सञ्चालनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अकबरे खुर्सानी पकेट विकास कार्यक्रमले यस्तो रूपान्तरण ल्याएको हो ।
गाउँपालिकाले यहाँको आदर्श कृषि बहुउद्देश्यीय सहकारी संस्थामार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अकबरे खुर्सानी ब्लक विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा उक्त सहकारीका सदस्यहरु मध्येबाट छ वटा समूहका ३० जना आबद्ध भई व्यावसायिक अकबरे खुर्सानी उत्पादन थालेको सहकारीका अध्यक्ष तेजबहादुर योङ्याले बताए । यी समूहले ओयामका विभिन्न सात स्थानमा अकबरे खुर्सानी उत्पादन थालेका हुन् । ढिला गरी उक्त कार्यक्रमबारे गाउँपालिकामा जानकारी आएकाले हतारोमा कार्यक्रम सुरुआत भए पनि अकबरे खुर्सानीको उत्पादन आकर्षक रहेको अध्यक्ष योङ्याको भनाइ छ ।
गाउँपालिकाले वडा नं ६ मा तरकारी उत्पादन तथा वडा नं ३ मा अकबरे खुर्सानी कार्यक्रम छनोट गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याएको हो । वडा नं ३ मा सञ्चालित पकेट विकास कार्यक्रममा लागि सङ्घीय सरकार र गाउँपालिकाले रु १२ लाख लगानी गरेका छन् । यस्तै सहकारी तथा सहकारी तथा कृषकहरुले रु सात लाख ७५ हजार साझेदारी गरी कूल रु १९ लाख ७५ हजारको लागतका कार्यक्रम सञ्चालनमा आएको हो ।
न्यूनतम सात हेक्टर क्षेत्रफलमा एकै स्थानमा खेती लगाइएको हुनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मापदण्ड भए पनि गत वर्ष ढिला गरी कार्यक्रम प्राप्त भएकाले धेरै स्थानमा खुर्सानीको खेती भएको गाउँपालिकाका कृषि प्राविधिक प्रेम सिग्देलको भनाइ छ । गत वर्षको बजेटबाट अकबरे खुर्सानीको बिउ बीजन खरिद, ५० प्रतिशत छुटमा हाते ट्र्याक्टर खरिद, ७५ प्रतिशत छुटमा सिँचाइका सामग्री खरिद, तराजु क्यारेटलगायत सामग्री खरिद, अकबरेको खेतीसम्बन्धी जानकारीमूलक तालिमलगायत कार्यक्रम भएका छन् ।
पाँचथरमा जिल्लाको फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिन अकबरे खुर्सानी खेतीका लागि प्रसिद्ध छ । उक्त स्थानमा व्यावसायिकरूपमा भइरहेको अकबरे खुर्सानीको खेती क्रमशः विस्तार भई नयाँ ठाउँ र ‘नयाँ माटो’मा पुग्दा राम्रोसँग उत्पादन दिन थालेको छ । थोरै कामबाट धेरै आम्दानी गर्न सकिने र अक्सर बजारको समस्या नहुने भएपछि कृषकहरु समेत अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित भएका छन् ।
मल्चिङ प्रविधिले धेरै फाइदा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नामजस्तै कृषिको आधुनिकीकरणका लागि यहाँ अकबरे खुर्सानी खेतीमा मल्चिङ गरिएको छ । मल्चिङ भनेको बजारमा पाइने मल्चिङ प्लाष्टिकले खेती लगाइएको जमिनलाई मादण्डानुसार ढाक्नु हो । पहिलो पटक यहाँ प्रयोग गरिएको मल्चिङ प्रविधिले कृषकहरुलाई धेरै फाइदा गरेको छ । मल्चिङ गरेपछि गोडमेल गर्न सहज हुने, माटोमा रहेको मलखाद बगाउने समस्या नहुने तथा सिँचित गर्न सहज हुन्छ । मल्चिङ गर्दा माटोको ड्याङ बनाई १२० सेन्टिमिटरको मल्चिङ प्लाष्टिक हाली दुवैतर्फ १०/१० सेन्टिमिटर पुरिन्छ ।
बिरुवा भएको भाग तथा मलखाद प्रयोग गर्नुपर्ने भए सो भागमा प्वाल पारिन्छ । बाँकी ठाउँ मल्चिङ प्लाष्टिकले ढाकिएको हुन्छ । मल्चिङ प्लाष्टिकका दुई पाटा दुई रङका हुन्छन् । बर्खाको समयमा कालो भागलाई माटोतर्फ फर्काइन्छ । अध्याँरो हुने भएपछि मल्चिङ प्लाष्टिकले छोपेको ठाउँमा अरु बिरुवा उम्रँदैनन् । हिउँदमा भने कालो भागलाई माथि फर्काई सेतो भागलाई माटोतर्फ हालिन्छ । मल्चिङ गर्दा दुई ड्याङको बीचमा ५० सेन्टिमिटर खाली ठाउँ राखिन्छ । उक्त खाली ठाउँबाट चिसो घुस्ने र बिरुवामा सहजै सिँचाई हुने कृषि प्राविधिक सिग्देलको भनाइ छ ।
मल्चिङ गरेका कारण खुर्सानीका सबै बिरुवा सप्रिएर आएको कृषक सेलिङ बताउछन् । ‘मल्चिङ नगरेका ठाउँमा सबै बिरुवा मरे । कतिपयमा अरु रोग किरा देखिए’, सेलिङले भने, ‘हामी व्यवहारमै आधुनिक खेती गर्न चाहने भएकाले प्राविधिकको सल्लाहअनुसार अगाडि बढ्यौँ ।’ कृषकहरुले आफैँले भकारो सुधार गरी झोलमल र मुत्रको प्रयोग गर्नाले अकबरे खुर्सानी लटरम्म फलेको छ । दुई पटक टिपेर बिक्री गरिसक्दा समेत नयाँ फूल लाग्न नछाडेपछि कृषकहरु झनै उत्साहित छन् । कतिपय ठाउँमा भने प्राविधिकको नियमित सल्लाह नलिँदा तथा उचाइ र तापक्रमका कारण खुर्सानीमा समस्या समेत देखिएको छ ।
अलैँचीभन्दा राम्रो आम्दानी
परीक्षणका रूपमा लगाइएको अकबरेको खेतीबाट पहिलो वर्ष नै आकर्षक आम्दानी हुने भएपछि कृषकहरु अकबरे खुर्सानीमा थप लगानी गर्न लालायित देखिन्छन् । ‘लगानी गर्नसके राम्रै आम्दानी गर्न सकिने रहेछ’, कृषक सेलिङले भने, ‘अलैँचीभन्दा राम्रो फाइदा हुने रहेछ ।’ श्रम र मलमा धेरै व्यक्तिगत लगानी भएको भए पनि गाउँपालिकाबाट राम्रो प्राविधिक, उपकरण तथा परामर्श सहयोग प्राप्त हुँदा व्यावसायिक खुर्सानी उत्पादन गर्ने हौसला मिलेको उनको भनाइ छ । अगुवा कृषक सेलिङको समूहले अहिले थप ४० रोपनी जग्गा लिजमा लिई अकबरे खुर्सानी खेती गर्ने सोच बनाएको छ । यसका लागि १० हजार विरुवा उत्पादन गर्न तयारी गरिएको छ ।’
सहकारीका अध्यक्ष योङ्या अकबरेको खेतीबाट गाउँघरमै बसेर पनि आकर्षक आम्दानी हुनसक्ने देखिएको बताउनुहुन्छ । “प्राविधिक ज्ञान र तौरतरिका राम्रोसँग बुझेर काम थालेमा राम्रै आम्दानी हुने रहेछ”, योङ्याले भने, राज्यको सहयोग पाइने र बजारको समस्या नहुने हुनाले कृषकहरु अकबरेको खेतीतर्फ थप आकर्षित हुने योङ्याको विश्वास छ । कृषि प्राविधिक सिग्देलका अनुसार चालु आर्थिक वर्षमा उक्त पकेट कार्यक्रमका लागि रु छ लाख बजेट प्राप्त भएको छ ।
कृषिको आधुनिकीकरणमार्फत स्थानीय आयआर्जन वृद्धि गर्ने, सकेसम्म गाउँमै स्वरोजगार बनाउने, लघु तथा घरेलु उद्योग स्थापना र सञ्चालन गर्ने स्थिति निर्माणका लागि याङवरक गाउँपालिकाले उत्पादनका कार्यक्रमहरु गाउँपालिकामा भित्र्याउन प्रयत्न गरिरहेको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले राम्रो प्रतिफल दिए यो र यस प्रकारका कार्यक्रमहरु झनै व्यापक र विस्तार गर्दै लैजाने र कृषकहरुको हित एवं कृषिको व्यावसायिक विकासमा मद्दत गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष घिमिरेले बताए ।