काठमाडौं । हरेक वर्ष बजारले दसैंलाई नयाँ–नयाँ रौनकतासहित स्वागत गर्छ । कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ ।
विगतका वर्ष कोरोना कहरका कारण बजार सुनसान थिए । किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन र पसलमा किनमेल गर्नेको भीड अत्याधिक देखिएको छ ।
सार्वजनिक सवारीसाधन तथा एयरलाइन्समा यात्रुमा समेत बढोत्तरी भएस्को छ । दसैं र लगत्तै आउने तिहार र छठ पर्वलाई केन्द्रीत गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न ‘अफर’ सार्वजनिक गरिरहेका छन् । उपभोगमा आधारित अर्थतन्त्रमा कूल उपभोगको एक तिहाइ दसैंमा उपभोग हुने बताइएको छ ।
लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनोविनोद गर्ने, एकआपसमा खुसी साटासाट गर्ने र मान्यजनको आशीर्वाद लिने पर्वका रुपमा दसैंलाई लिइन्छ । अर्थविद् उज्ज्वल दाहालका अनुसार घरयासी खर्चको एकतिहाइ खर्च दसैंसहित चाडपर्वमा हुने गरेको छ ।
उनले भने ‘उद्योगी व्यवासायीले दसैं, तिहार र छठपर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँ नयाँ अफर सहित ग्राहकलाई लोभ्याउने भगीरथ प्रयत्न गर्दछन् । दसैंको व्यापारले वर्षभरीको व्यापार चक्रलाई ठूलो भरणपोषण गर्छ ।’
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पर्वका अवसरमा विक्री वितरण बढ्नु स्वाभावित भएको जानकारी दिन्छन् ।
उनले भने ‘टिकाउवस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायतका खरिदकर्तालाई दसैंको अफर पर्खेर बस्ने बानी लागि सकेको छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल÷रेस्टुरेन्टले दसैं लक्षित प्याकेज बिक्री गर्न थालेका छन् ।’
दसैं मनाउन आ–आफ्नो गाउँघर आउनेक्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । बजारमा पैसा चलायमान हुने भएकाले दसैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । दसैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट तथा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।
उनले भने, ‘पहिले पनि दसैंं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दसैंं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ ।’
अन्य महिनाका तुलनामा दसैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम ‘रेमिट्यान्स’ भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । सोही तथ्याङ्क अनुसार औषतमा दसैं, तिहार तथा छठका अवसरमा करिब रु १०÷१५ अर्ब रेमिट्यान्स स्वदेश भित्रिन्छ ।
अर्थविद्का अनुसार दसैं अघिका दुई–तीन हप्ताका अवधिमा वर्षभरिको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने गर्दछ । अर्थशास्त्री डा सुरेन्द्र लाभ भन्छन ‘दसैं, तिहार तथा छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गर्दछ । चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत्त छ ।’
बर्दीबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रहलाद क्षेत्रीका अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि पर्वका समयमा बजारमा चहलपलह तथा रौनक बढेको छ ।