मोलतोलको पोल भित्रबाट
गोल हान्नेछन् खेलाडीले
निर्विकल्प कोही छैन
जम्मा गरेको हजारौँको भीड
मानव–मेसिनमा रूपान्तरित भएर
आवाज विहीन बनेको
समयले बनाएको हो
विधान र संविधानले होइन
यी त साइजअनुसार बनाइन्छन् मिचिन्छन्, च्यातिन्छन् फालिन्छन्,
र, समयले पुनः लेख्दछ
तर सधैँको लागि कहिले होइन
सुरुवातसँगै छ अन्त्य विश्व इतिहासको
पुन सुरुवात भएर
स्टालिनयुग युद्ध अघि होइन
बन्चरो हानेर ट्रट्स्कीको हत्या
मेक्सिकोमा गराएर पनि होइन
न बुखरिनलाई जेल हालेर
अनि गोली हानेर हो
समय बलियो भएर मात्र हो
दासहरूले ढुङ्गामा कुदेर
बनाएको देवत्व स्वरूप
कर्मकाण्डको बाजागाजा
त्यसले बनाएको विधानले
न हृदय रसाउँछ
न ऊर्जा निस्किन्छ
अन्तले खेलाएको
दोबाटे लङ्गुरबुर्जाको खेलबाट
सत्ताको बुर्जाहरूमा बालिने बत्तीमा
बत्तीका पुतलीहरू आफै सखाप हुन्छन्
बदलिँदो बादल भन्दा
थाह नहुने गतिमा
समय बदलिसकेको हुन्छ
अनि –
समय भन्दा बलियो
धरतीमा को छ र ?