काठमाडौं । दशैंको विदा सकिएसँगै सरकारी कार्यालयहरु पनि खुल्न थालेका छन् । सरकारी कार्यालय खुल्न थालेपछि गाउँ गएकाहरु सहर फर्कन थालेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ ।
काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका नाकाहरुमा दशै मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिएको छ ।
मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको हो । काठमाडौं उपत्यकामा आइतबारबाटै चहलपहल बढेको देखिएको थियो भने सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको छ ।
ट्राफिक प्रहरीले सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको जनाएको छ । आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ ।
टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।