काठमाडौं । नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते (शनिबार) देखि सुरु हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
कार्यालय सचिव तामाङका अनुसार आगामी शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको छ । यसैलाई नै औपचारिक उद्घाटन मानेर अधिवेशनका कार्यक्रम अघि बढ्ने तामाङको भनाइ छ ।
हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका तय गरेको छ ।