गण्डकी । दशैंयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना कहरका कारण झण्डै दुई वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ ।
फेवातालमा डुङ्गा शयर होस् वा आसपासका सराङकोट, काहुँकोट, विश्वशान्ति स्तुप, पुम्दीकोट, हुडिकोट आदि स्थानमा पर्यटकको बाक्लै उपस्थिति देखिएको छ । यी स्थानबाट देखिने सूर्योदयको अवलोकनसँगै हिमाली दृश्यले पर्यटकलाई लोभ्याएको छ ।
पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने समय भए पनि कोरोनाका कारण सुनसान बनेको यहाँको पर्यटनलाई दशैंको आगमनले ठूलै राहत पु¥याएको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
दशैंमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतमा पनि देशका विभिन्न स्थानबाट आएका पर्यटकले चलायमान बनाउँथ्यो । कोरोनाको सङ्क्रमण पनि घट्दै गएका कारण दसैसँगै पर्यटक आउनेक्रम बढेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।
दशैं अघिसम्म सुनसान जस्तै रहेका पोखराका होटेलमा यतिखेर क्षमताको करिब ३५ प्रतिशत आन्तरिक पर्यटकले भरिएको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । पोखरामा साना ठूला गरी झण्डै एक हजार होटेल छन् । जसमध्ये १६ वटा तारे होटेल छन् ।
कोरोना कहरपछि यहाँका ठूला होटेलले पर्यटकका लागि प्याकेज उपलब्ध गराएका कारण ती होटेलमा साना तथा मझौला होटेलको तुलनामा बढी पर्यटक पुगेका छन् । विभिन्न वित्तीय संस्था, कार्यालय आदिका कार्यक्रम ठूला होटेलमा गरिनुले पनि ती होटेलमा पर्यटकको सङ्ख्या बढेको हो ।
यो समयमा पोखरा भित्रिएका पर्यटकमध्ये ठूला होटेलमा क्षमताको ५० प्रतिशत पर्यटक पुगेका छन् भने साना होटेलमा क्षमताको २५ प्रतिशत पर्यटक पुगेको हान पश्चिमाञ्चलका अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका होटेलमा हालसम्म झण्डै पौने चार खर्ब बराबरको लगानी भइसकेको छ ।
हाल पोखरा भित्रिएका पर्यटकको तथ्याङ्कअनुसार १० प्रतिशत भारतीय पर्यटक छन् भने अन्य बाह्य पर्यटक पाँच प्रतिशत छन् । कूल पर्यटकको ८५ प्रतिशत आन्तरिक पर्यटक छन् । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् ।
पोखरा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पदयात्रामा जाने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए ।
उनका अनुसार यस याममा पदयात्राका लागि फाट्टफुट्ट बुकिङ आउन थालेको छ । आन्तरिक पर्यटकले घान्द्रुक, घोरेपानी, मर्दी, अन्नपूर्ण आधार शिविर, कफुचे, कोरी आदि स्थानमा पदयात्रामा जाने गरेको उहाँले जानकारी दिए ।
दशैं अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दसैँ पेश्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेको पाइन्छ । आन्तरिक पर्यटकको पहिलो रोजाइँ पोखरामा पर्ने भएकोले अधिकांशले दुईदेखि तीन दिनसम्मको समय छुट्याएर पोखरा आउछन् ।
पोखरा आउने पर्यटकले माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गरी तालबाराहीको दर्शन गर्दछन् भने हिमाली दृश्यावलोकनका लागि सराङकोट, विश्वशान्ति स्तुप, पुम्दीकोटलगायतका स्थान पुग्ने गर्दछन् ।
पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने गरेको छ । लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।