काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक अहिले बसिरहेको छ । सोमबारबाट सुरु भएको स्थायी कमिटी आज मंगलबार दोस्रो दिन पनि जारी छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बैठक बसिरहेको जानकारी दिए ।
बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित छलफल भइरहेको छ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
राष्ट्रिय सम्मेलनअघि पार्टी कमिटीका तल्ला तहका अधिवेशनहरू गर्ने तयारीमा रहेको सो पार्टीले आगामी साता कार्तिक १३ गते वडा सम्मेलन गर्ने माओवादीको तयारी छ । त्यस्तै मङ्सिर ४ गते पालिकाहरूको सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।
माओवादी शीर्ष नेताहरूले तोकिएकै समयमा राष्ट्रिय सम्मेलन गर्ने गरी तल्ला तहका अधिवेशनहरूको तयारी गर्न मातहतका कमिटीलाई निर्देशन दिइसकेको छ ।