काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका हेरफेर गरेको छ । प्रवक्ता कृष्णबहादुर महराले मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरिएको जानकारी दिए ।
पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको प्रवक्ता महराले जानकारी दिए । यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सक्ने माओवादीको तयारी छ ।
प्रवक्ता महारका अनुसार प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिनेछ । त्यस्तै मंगलबारको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । जसमा १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।
लेखा आयोगको संयोजक पेशल खतिवडालाई तोकेको छ भने टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरेको प्रवक्ता महराले जानकारी दिए । त्यस्तै विशेष समिति १७५ सदस्यीय बनाएको छ ।
बैठकमा विभिन्न पार्टीसँगको एकीकरणका लागि कार्यदलले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको प्रवक्ता महराले बताए । माओवादीको अर्को बैठक कार्तिक ४ गते पुन बस्नेछ ।