बझाङ । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । केदारस्यूँ गाउँपालिका(१ नारुगौडास्थित बाढीले सडक बगाएपछि सो राजमार्ग अवरुद्ध बनेको हो ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव बढेकाले राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।
राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन र यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।
त्यस्तै वर्षाका कारण काटेर भित्र्याउने तयारीमा रहेका धानबालीमा ठूलो क्षति पुर्याएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् । लगातारको वर्षाले सेती र कालङ्गा नदीका तटिए क्षेत्रका खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी डुवेको छ ।
धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको जयपृथ्वी नगरपालिका( ५ का नरेस सिंहले बताए ।
धान काटिसकेको भए पनि चुट्न बाँकी रहेको र धान काटेर खेतमै सुकाउन राखेको अवस्थामा पानी पर्दा धानमा क्षति भएको उनको भनाइ छ । पानीले जयपृथ्वी नगरपालिकाको गोलाइ जिउलो, डुग्री, पडेस, साइलाबगर, केदारस्युँ गाउँपालिकाको झोता, देउरा, बुङगल नगरपालिकाको सट्टाय, बिजगडा, गिरांैलगायतका जिउलामा काटेर सुकाउन राखिएको धान पानीले भिजेर क्षति भएको हो । बाहुली खोलामा आएको बाढीले जिल्ला सदरमुकाम चैनपुरको खोला छेउमा रहेका दुई वटा पोल्टी फर्म, बङ्गुर फर्म बगाएको छ ।
विभिन्न ठाउँमा गएको पहिरोले सयौं परिवार विस्थापित हुन पुगेका छन् । बाढीका कारण लघु जलविद्युत् आयोजना, नहर, विद्यालय, ग्रामीण सडकमा क्षति पुगेको छ । पहिरोले सयौँ रोपनी खेत पनि बगाएको छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख नायब उपरीक्षक रुपक खडकाले बताए ।