Logo
Logo

बाढीपहिरोमा परी १४ जनाको मृत्यु


1.3k
Shares

काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर १४ जनाको मृत्यु भएको छ । त्यस्तै ३४ जना भन्दा धेरै बेपत्ता भएका छन् ।

सबैभन्दा धेरै सुदूरपश्चिमको डोटीमा ९ जनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा ६, सायल गाउँपालिकामा २ र शिखर नगरपालिकामा १ जनाको मृत्यु भएको हो ।

पहिरोले घर भत्काउँदा च्यापिएर जोरायल– ३ का ६२ वर्षीय जोगी सार्की र उनकी श्रीमती ६१ वर्षीय झुपारी सार्कीको मृत्यु भएको छ । वडा नम्बर ४ का ४२ वर्षीय शेरबहादुर विक, उनका छोराहरू १८ वर्षीय मोहन र १६ वर्षीय रविन तथा १३ वर्षीया छोरी पवित्रा विकको मृत्यु भएको छ ।

सायल–६ खातिवडाको अलैतवडाका १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिष कुन्जेडाको पनि पहिरो परेर मृत्यु भएको छ । त्यस्तै, शिखर नगरपालिका– ११ की ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुंगाले लागेर मृत्यु भएको छ ।

त्यसैगरी, सुनसरी र डडेल्धुरामा २–२ जना तथा कालिकोटमा १ जनाको मृत्यु भएको छ । पहिरो खसेर कच्ची घर पुरिँदा सुनसरीको धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्ग बस्ने निसान राईकी आठ वर्षीया छोरी निसु र चार वर्षका छोरा निहानको मृत्यु भएको छ ।

डडेल्धुरामा घरमाथिबाट आएको पहिरोले पुर्दा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ । त्यस्तै, गन्यापधुरा–३ मा खोलाले बगाउँदा ६५ वर्षीया नर्मदादेवी शाहीको मृत्यु भएको छ । त्यसैगरी, कालिकोटको महावै गाउँपालिका–७ का १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्