Logo
Logo

बाढीपहिरोबाट प्रदेश १ मा २४ जनाको मृत्यु, ८ बेपत्ता


1k
Shares

काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षा र बाढी, पहिरोका कारण प्रदेश १ मा २४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पुरुष, ९ महिला, ७ बालक र २ बालिका रहेको प्रदेश १ मा प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।

राईका अनुसार बाढी पहिरोमा परेर इलाममा ९, पाँचथरमा ६, उदयपुरमा १, धनकुटामा ६, सुनसरीमा २ जनाको मृत्यु भएको हो । त्यस्तै, बाढी पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ का २५ वर्षिय सुवध राई झरनामा नुहाउने क्रममा मंगलबार दिउँसो १ बजे बेपत्ता भएका थिए । खोजविन गर्ने क्रममा बुधबार विहान मृत अवस्थामा उनको शव फेला परेको थियो । बाढीले झापा, सुनसरी र मोरङ क्षेत्रलाई बढी प्रभाव पारेको छ ।

बाढीका कारण मोरङमा करिब पाँच सयभन्दा बढी उद्दार गरिएको छ । मोरङमा हजारौं घर डुवानमा परेका मोरङ प्रहरीले जनाएको छ । विराटनगर १, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुवानमा परेको छ । त्यस्तै, तुवामाइ नगरपालिका ७ मा ३० घर डुवानमा परेको प्रहरीले जनाएको छ । यता बुढीगंगा गाउँपालिका १ र २ को शान्ति चोक बस्ती डुवानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्