काठमाडौं । सरकारले तीन दिनको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेकाको खोज तथा उद्धारमा निजी हेलिकोप्टर पनि प्रयोग गर्ने तयारी गरेको छ ।
अहिलेसम्म नेपाली सेनाको हेलिकोप्टरले मात्रै उद्धार गरिरहेकामा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्न लागिएको हो ।
मुलुकभर नै निरन्तरको वर्षातपछि आएको बाढी र पहिरो तथा भएको डुबानमा परेकाहरूको खोज तथा उद्धार कार्यका लागि निजी हेलिकोप्टर पनि ‘स्ट्यान्डबाई’ राख्न लागिएको हो ।
गृह मन्त्रालयमा आज बिहान गृहमन्त्री बालकृष्ण खाँणको पहलमा गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायु सेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायु सेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो ।
बैठकमा वर्षात निरन्तर भइरहेको र सेनाको हेलिकोप्टरले मात्रै बिपत परेकाको खोज तथा उद्धारमा कठिन देखिएपछि निजी हेलिकोप्टर प्रयोग गर्ने विषयमा छलफल भएको थियो ।
निजी वायु सेवा कम्पनीको एसोसिएसनका कार्यकारी निर्देशक वर्माले बिपत परेकाहरूको खोज तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरु सेवा दिन तयार रहेको बताए ।
उनले बैठकमा निजी वायु सेवा कम्पनीसँग ३५ हेलिकोप्टर भएको जानकारी दिए । त्यसपछि, बैठकमा ती हेलिकोप्टर कहाँ छन् भन्ने लोकेसन एसोसिएसनले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृहले आवश्यकताअनुसार खटाउने भएको छ । त्यसको समन्वय गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले गर्ने छ । निजी हेलिकोप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिनेछ ।