काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुर्खेत पुगेर देशभर बाढी पहिरोबाट ठुलो क्षति भएका पीडित परिवारलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिने बताएका छन् ।
बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सुर्खेत पुगेका देउवाले क्षतिको एकिन तथ्यांक संकलन भएपछि राहत दिने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री देउवाले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरुसँग प्रदेशमा बाढी तथा पहिरोबाट भएको क्षतिबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्री देउवासहितका टोली काठमाडौंबाट आज विहान सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका हुन् ।
प्रधानमन्त्री देउवासंगै टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि छन् । उनीहरुले आज सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा अवलोकन गर्ने कार्यक्रम छ ।