काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो २ बजे स्थायी कमिटीको बैठक बस्न लागेको हो ।
आजको बैठकमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन लगायतका विषयमा छलफल हुनेछ । मुख्य रुपमा आजको बैठकमा असार २७ गते भएको १० बुँदे सहमति र त्यसपछि भदौमा जारी भएको अन्तर पार्टी निर्देशन १२ कार्यान्वयनको विषय नै केन्द्रित हुने एक स्थायी कमिटी सदस्यले बताए ।
१० बुँदे सहमति कार्यान्वयनका लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा बनेको कार्यदलले आजको स्थायी कमिटी बैठकमा सुझाव प्रस्तुत गर्नेछ । त्यसपछि त्यसलाई कसरी समाधान गरेर लैजाने भन्ने विषयमा नै छलफल केन्द्रीत हुने उनको भनाई छ ।
एमाले अध्यक्ष केपीशर्मा ओलीले बुधबार बागमती प्रदेश कमिटीको बैठकमा १० बुँदे सहमति र त्यसको कार्यान्वयनका सन्दर्भमा दिएको अभिव्यक्तिपछि माधवकुमार नेपाल छोडेर एमालेमै रहेका नेताहरु असन्तुष्ट बनेका छन् ।
यसअघि हिजोको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । त्यसका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।