काठमाडौँ । सत्तारुढ दल नेपालीकांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकारले कामको गति लिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका थापाले सरकारले जसरी काम गर्नुपर्ने थियो त्यसरी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।
उनले यो सरकारले दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिने मौका गुमाउन नहुने पनि बताए । उनले विश्वकै आर्थिक गतिविधि चीन र भारतमा केन्द्रित भएको भन्दै त्यसको लाभ नेपालले लिनुपर्नेमा ध्यानार्कषण गराए ।
कार्यक्रममा बोल्दै नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्युत खपत बढाउने विषयमा ध्यान दिन पनि आग्रह गरेका छन् । उनले विद्युत खपत बढाउन सरकारले योजनावद्ध ढंगले अगाडि बढ्नुपर्ने सुझाव समेत दिए । उनले प्राधिकरणका कर्मचारीलाई प्राधिकरणको प्रतिष्ठा जोगाउन र जिम्मेवारीपूर्वक काम गर्न पनि आग्रह गरे ।