काठमाडौं । गठबन्धन सरकारमा भागबन्डा खोजेको भनी उठेको विवाद सन्दर्भमा पूर्वन्यायाधीशहरूको फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराप्रति गम्भीर शंका व्यक्त गरेको छ ।
सर्वोच्च अदालतसँग जोडिएका विभिन्न खालका विवादले गर्दा न्यायिक स्वच्छता झन्झन् धुमिल हुँदै गएको र न्यायपालिका गम्भीर विवादको भुमरीमा परेको फोरमको टिप्पणी छ ।
आफ्ना विषयमा उठेका सम्पूर्ण विवादमा प्रधानन्यायाधीश जबरा स्वयंले निकास दिन फोरमले आग्रह गरेको छ । प्रधानन्यायाधीश जबराले निकास नदिए निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभाले संवैधानिक दायित्व पूरा गर्नुपर्ने फोरमको विश्लेषण पत्रमा उल्लेख छ ।
‘प्रधानन्यायाधीशलाई विपक्षी बनाइएको रिट निवेदनमाथि सुनुवाइमा ढिलाइ गरिएको, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको संलग्नता र मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको भागबण्डाको सौदाबाजीको विषयले न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था, स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुन सक्छ’, शुक्रबार सार्वजनिक विश्लेषण पत्रमा भनिएको छ, ‘यो वाञ्छनीय र अनिवार्य पनि देखिएको छ ।’ न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयं न्यायाधीशहरूको भएको समेत पूर्वन्यायाधीशहरूले स्मरण गराएका छन् ।
‘प्रधानन्यायाधीशबाट न्याय–पालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशमाथि उठेका सम्पूर्ण विवादको निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभाले संवैधानिक दायित्व, कर्तव्य पूरा गर्न अग्रसर हुन हामी आह्वान गर्दछौं’, फोरम अध्यक्ष टोपबहादुर सिंहद्वारा जारी विश्लेषण पत्रमा भनिएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।