काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् ।
आज (शनिबार) सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० बुँदे सहमति गरेर एमालेमै बसेका तेस्रो धारका नेताहरुको विजोग भएको टिप्पणी गरेका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको पनि बताए । उनले भने, ‘आदेशको पालना गर्यो भने स्याबास १ बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको भनेर हेप्छन्, सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ । १० बुँदे भन्ने साथीको कस्तो हरिविजोग । छैन कुनै मर्यादा । कुनै सम्मान छैन ।’
गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए । उनले भनेका थिए। ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर दश बुँदे गरिएको थियो । अब के दश बुँदे, दश बुँदे, दश बुँदे ?’,
शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने मनसाय नदेखिएको भन्दै १० बुँदे कार्यान्वयन कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका थिए । उनले राजीनामा दिँदै भनेका थिए– ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ ।’
एमालेका विवादरत नेताहरुबीच असार २७ गते १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ गते पार्टी संगठनमा फर्काउने निर्णय गरेको थियो । तर केही स्थानमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेका असन्तुष्टि रहेको थियो ।