धनगढी । धनगढीको मुख्य बजारबाट एक किलोमिटरको दुरीमा रहेको पुरानो एयरपोर्ट शिविर जाने गल्ली छेउमै एउटा झुपडी छ । उखरमाउलो गर्मी होस् या वर्षातको झरी जुन समयमा पनि त्यहीँ झुपडीमा भेटिन्छन्, ७० वर्षीय जोगे कामी ।
उमेरले ७० कटे पनि उनी फलाम पिटेरै (फलामका औजारहरू बनाएर) आफ्नो परिवारको गुजारा गरिरहेका छन् । उनले यो पेसा अंगाँलेको ५ दशक बितिसकेको छ । त्योभन्दा पहिले उनको परिवारले खलो मागेर गुजारा चलाइरहेको थियो ।
मागेर खानुभन्दा बेस लागेर उनले फलाम पिट्ने पेसा अँगाले । उमेरमा बल हुँदा त यहीँ व्यवसायबाट उनले घर खर्च चलाएर केही रकम बचाउँथे पनि तर अचेल त उनलाई छाक टार्नै समस्या भइरहेको छ ।
‘७० वर्षको भइसकेँ यहीँ भाडा पिटेरै खान्छ । अरू काम गर्न सक्दिन । यहीँ काम गरेर बुढाबढीलाई चारो भइरहेको छ ।’ झुप्रोमा फलाम पिट्दै गरेका जोगे कामीले भने- ‘दशैँ गइसक्यो, तिहार आउँदैछ । अरु कमाई केही छैन । कसरी गुजारा चलाउने होला ? छोराहरूले पनि हेर्दैनन् । यस्तै छ जिन्दगी । अहिलेसम्म कसैले बुढो मान्छे भनेर सहयोग पनि गरेका छैनन् । सकुन्जेलसम्म काम गरेर खान्छु । बाँकी जे होला होला ।’
जोगेका ५ जना छोराहरू छन् । तर, छोराहरुले उनलाई सहयोग गर्दैनन् । छोराहरुले सहारा नदिँदा उनी हात मुख जोड्न ७० वर्षको वृद्ध उमेरमा पनि पसिना बगाइरहन्छन् । फलाम पिट्ने व्यवसायमा जोगेलाई उनकी श्रीमती विर्मा कामीले पनि सहयोग गर्छिन् ।
फलाम पिट्न एक्लै सम्भव नभएपछि जोगे फलाम पिटेर नयाँ औजार बनाउँछन् भने उनकी श्रीमती विर्माले आरा चलाउने, कोइला हाल्ने निकाल्ने, र फलाम तताउने काम गर्छिन् ।
दशैंतिहारको गुजारा गर्न आरा चलाइरहेकी बिर्मा भन्छिन्- ‘छोराहरू छुट्टिएर गएका छन् । आफ्नो बनाउँछन्, खान्छन् । हामी पनि आफ्नो गुजारा चलाउन मरिमेटेका छौँ । छोराहरूले हेर्दैनन् पनि के भन्नु मजदुरी गर्छन् दिनको पाँच सय रुपियाँले क-कसलाई हेरुन् ? श्रीमती, छोरा—छोरी छन् । आरन पेसा, उसै पनि आगोको रापसँग खेल्नु पर्ने !’ पुरानो एयरपोर्ट छेउमा रहेको उनको झुप्रोमा खानबस्नै समस्या छ ।
आगोको राफले झरिरहेका तपतप् पसिना पुछ्दैँ, जोगेले भने- ‘ग्राहक नै आउँदैनन्, दिनभरि कुरेर बसिरहन्छौँ । कहिले काहीँ त ग्राहक नहुँदा साँझ बिहान कै छाक टार्न समस्या हुन्छ । जसो त्यसो गाँस र बास त भइरहेको छ । न हामीले बचत गर्न सकेका छौँ। नत चाडपर्वमा मिठोमसिनो नै खान सकेका छौं । हाम्रा लागि चाडपर्व नआइदिए हुन्थ्यो ।’
फलाम पिट्ने उनीहरुका सपना धेरै ठूला छैनन् । मात्र छाक टार्न र आनन्दले सुत्न सक्ने अवस्था भए पुग्छ । तर, उनीहरूका लागि त्यो पनि सम्भव छैन् । दुई छाक टार्न नै धौ धौ पर्ने उनीहरुको सहारा भनेको नै आरन हो । जहाँ फलाम नपिटे हात र मुख नै जोरिदैँन ।