काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अन्तर्गत गत असोज ७ गतेयता जारी भएको बीमालेखमा मात्र ८० प्रतिशत अनुदान पाइने भएको छ । चालू आवको प्रतिस्थापन बजेटले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो, त्यो व्यवस्था असोज ७ गतेदेखि लागू हुने भएको हो ।
अर्थ मन्त्रालयले गत हप्ता बीमा समितिलाई पत्र पठाउँदै असोज ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न निर्देशन दिएको छ । त्यसपछि समितिले पनि हालै एक परिपत्र जारी गर्दै निर्जीवन बीमा कम्पनीहरूलाई सोहीअनुसार नै कृषि तथा पशुपन्छी बीमा सञ्चालन गर्न निर्देशन दिएको छ । साउन १ गतेदेखि असोज ६ गतेसम्मको बीमालेलखमा ५० प्रतिशत अनुदान दिइने बताइएको छ ।
गत आवसम्म सरकारले यस्तो बीमामा ७५ प्रतिशतसम्म अनुदान दिने गरेको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको चालू आवको बजेटमा त्यस्तो अनुदान घटाएर ५० प्रतिशतमा कायम गरिएको थियो । राजनीतिक घटनाक्रमसँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले प्रतिस्थापन बजेट ल्याउँदै उक्त अनुदान बढाएर ८० प्रतिशत पुर्याएको हो, जुन असोज ७ गतेयताको पोलिसीमा मात्र लागू हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । प्रतिस्थापन बजेट प्रमाणीकरण भएको मितिदेखि नै उक्त व्यवस्था लागू भएको उनको भनाइ छ ।, यो समाचार आजको आर्थिक अयिभान दैनिकबाट साभार गरिएको हो ।