काठमाडौैं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएका छन् । उनीहरुले न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्न सामूहिक रुपमा प्रधानन्यायाधीश जबरालाई भेट्ने भएका हुन् ।
आज विहान साढे ११ बजे भेट्ने समयत तय भएको छ । भेटघाटको विषयवस्तु तय गर्न सोमबार सर्वोच्च अदालतका १३ जना न्यायाधीश छलफलमा जुटेका थिए ।
अघिल्लो दिन बैंठकमा सहभागी भएका न्यायाधीश नहकुल सुवेदी भने विदामा बसेका कारण बैठकमा सहभागी हुन पाएनन् ।
सोमबार नै नेपाल बार एसोसिएसन र सर्वोच्च बारले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई ‘निकास दिन’ आग्रह गर्ने निर्णय गरेको थियो ।
चार पूर्वप्रधानन्यायाधीशहरुले अवेर राति विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह समेत गरेका थिए ।
प्रधानन्यायाधीश जबरालाई संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेको छ ।