Logo
Logo

‘मिलेर अघि बढ्न राजीनामा दिनै ठीक लाग्यो’


4k
Shares

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको बताएकी छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार राजीनामा दिएकी उनले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘हामी संस्कारयुक्त बनौं, द्वनन्द्व कम गरौँ । प्रदेश बनाउन मिलेरै काम गरौैं’ उनले भनिन्, ‘आफ्नो पदीय दायित्व होला । तर आखिरमा प्रदेश बनाउन हामी नमिली सुखै छैन ।’ उनले आगामी दिनमा मिलेर अघि बढ्न अहिले राजीनामा दिन आफूलाई ठीक लागेको बताइन् ।

‘हिजाको परम्परागत सोचले हुँदैन । प्रतिपक्ष भएपछि विरोध गर्नैपर्ने, सत्तापक्षले जस्तो भए पनि पास गरेर जानुपर्ने, यो सोच त्याग्नुपर्छ’ उनले भनिन्, ‘राम्रोलाई राम्रो भन्ने नराम्रोलाई आलोचना गर्ने । यो संस्कार हामीले विकास गर्न किन सक्दैनौँ ?’ संस्कारयुक्त बागमती प्रदेश बनाउन आलोचना र आत्मालोचनाको बानीको विकास गर्नुपर्ने पनि उनको भनाइ छ ।

नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् । मतविभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्