Logo
Logo

फेरि सर्‍यो कांग्रेस महाधिवेशन


819
Shares

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । बुधबार बसेको निर्वाचन समितिको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ । उनका अनुसार कात्तिक ३० गते पालिका अधिवेशन  हुने छ ।

यस्तै, मंसिर ३ मा प्रदेश निर्वाचन क्षेत्र, ६ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्र र १० गते जिल्ला अधिवेशन गर्नेगरि मिति प्रस्ताव गरिएको छ ।

यसअघि नै कांग्रेसले ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ । सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँकेमा भने अझै वडा अधिवेशन हुन सकेको छैन । 

योसँगै कांग्रेसको निर्वाचन कार्यतालिका ८औं पटक संशोधन भएको छ । बुधबार निर्वाचन समितिले तय गरेको निर्णयलाई केन्द्रीय समिति बैठक बोलाएर अनुमोदन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्