काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे आज नियुक्त हुने भएका छन् । उनलाई गठबन्धनको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको साथ रहेका छ ।
नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डेसँगै नयाँ मन्त्री बन्नेहरुको समेत टुंगो लागेको छ । मुख्यमन्त्रीसहित मन्त्री नियुक्तपछि आज दिउँसो साढे ३ बजे सपथ कार्यक्रमको गरिएको तयारी छ ।
प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न ३ बजेसम्मको समय दिइसकेकाले त्यसपछि नियुक्ति र सपथ ग्रहण गराइने तयारी गरिएको हो । सपथको आवश्यक तयारी नपुगेका अपराह्न ५ बजेभित्र बागमतीमा नयाँ सरकार निर्माण हुनेछ ।
को-को बन्दैछन् मन्त्री ?
मुख्यमन्त्रीमा पाण्डेको नेतृत्वमा बन्ने सरकारमा गठबन्धनबाट नयाँ सम्भावित मन्त्रीको नाम सार्वजनिक भएको छ । एक नेताका अनुसार सम्भावित नाममा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान, नेपाली कांग्रेसका कृष्ण भँडेल र नेकपा एकीकृत समाजवादीका कृष्ण खनाल मन्त्री बन्दैछन् ।
चर्चामा आएअनुसार माओवादी केन्द्रकी मोक्तानले आन्तरिक तथा मामिला मन्त्रालय पाउने सम्भावना छ । यो मन्त्रालय माओवादी केन्द्रले लिने सहमति बनेमा पूर्वमन्त्री शालिकराम जम्मकट्टेल पनि सरकारमा सहभागी हुने बताइएको छ ।
अर्थ मन्त्रालय कांग्रेसका भँडेलले पाउने चर्चा छ भने एकीकृत समाजवादीका खनालले सामाजिक विकास मन्त्रालय पाउने सम्भावना रहेको छ । हाल मन्त्रालय भागबन्डाका विषयमा गठबन्धनको बैठक बसिरहेको एक नेताले बताए ।