काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भारत र चीनमा १२ वर्षमुनिका बालकालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपश्चात नेपालले पनि खोप ल्याउने तयारी गरिएको जानकारी दिए ।
‘१२ वर्षमुनिका बालबालिकाका लागि लगाउने खोपको अहिले भारत र चीनमा दोस्रो चरणको सफल परीक्षण सकेर तेस्रो (अन्तिम) चरणको परीक्षण भइरहेको छ’ उनले भने, ‘तेस्रो चरणको सफल परीक्षण सकेर विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिइसकेपछि हामीले उक्त खोप ल्याउँछौँ ।’
भारत वा चीन जसले हामीलाई चाँडो खोप उपलब्ध गराउँछ सोही मुलुकबाट खोप ल्याइने तयारी भइरहेको उनको भनाइ छ । अहिले १२ वर्षभन्दामाथिका उमेरसमूहका बालबालिकालाई लगाउनका लागि सरकारले फाइजर र मोर्डना खोप ल्याउन थालेको छ ।