काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उनले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिएका हुन् ।
पाण्डले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी नेपाल र जनमोर्चा नेपालको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।
उनले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिएका थिए ।
प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएका थिए ।