Logo
Logo

राजेन्द्र पाण्डे : सिक्किम आन्दोलनदेखि मुख्यमन्त्रीसम्म


8.2k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा आजैदेखि कार्यभार सम्हालेका छन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित पाण्डे बुबा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेको कोखबाट २०१३ साल जेठ २९ गते धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ मा जन्मेका हुन् ।

एमालेबाट प्रदेश सभासदस्यमा निर्वाचित भएपनि पार्टी विभाज भएर एकीकृत समाजवादी गठन हुँदा नयाँ पार्टी रोजेका पाण्डे एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका हुन् । बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त पाण्डेले ग्रामिण विकासमा स्नातकोत्तर गरेका छन् ।

पाण्डेको राजनीतिक यात्राः
२०३१ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका पाण्डे २०३३ साल श्रावणमा केन्द्रीय कारागारमा जेल कमिटीको सदस्य तथा कोअर्डिनेसन केन्द्रको सदस्यता प्राप्त गरेका थिए । उनी २०३४ साल श्रावणमा प्रथम भ्याली अर्गनाईजिङ कमिटीको सदस्य समेत भएका थिए ।

पाण्डे २०४२ साल पुसपछि २०४७ पुससम्म नेकपा (माले) जिल्ला कमिटी धादिङको सदस्य भए । २०४७ साल पुसपछि २०५२ सालसम्म उनले एमाले जिल्ला कमिटी धादिङको पार्टी सचिवको जिम्मेवारी निर्वाह गरे । २०५० वैशाख २० गते नेपालगञ्जमा सम्पन्न एमालेको छैटौं महाधिवेशनबाट अञ्चल सचिव भए । र, २०५४ सम्म सो जिम्मेवारीमा रहे ।

२०५५ मंसिर ५ गते एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका उनले २०६५ सालसम्म सो जिम्मेवारी सम्हालेका थिए । २०६५ सालदेखि २०७४ सालसम्म एमालेको पोलिटब्युरो सदस्य रहेका उनी २०७४ सालदेखि तत्कालीन नेकपाको केन्द्रीय सदस्य भए ।
तत्कालीन नेकपा विघटनसँगै उनी २०७८ भदौ ९ गतेसम्म एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । २०७८ भदौमा एमाले विभाजनपछि भने उनी एकीकृत समाजवादी पार्टीमा आवद्ध रहेर उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

सिक्किम आन्दोलदेखि जेल जीवनसम्म
२०३१ सालमा सिक्किमलाई भारतमा गाभ्ने विरुद्धको आन्दोलनमा सहभागी रहेका पाण्डे २०३२ सालको विद्यार्थी आन्दोलनलाई शरस्वती क्याम्पसबाट नेतृत्व गरे । उनी २०३२ सालको विद्यार्थी आन्दोलनमा गिरफ्तार भइ केन्द्रीय कारागारमा ४२ दिनसम्म हिरासतमा बसे । २०३४ सालमा भूमिगत जीवन पनि बिताए । जेल बसेको अवधिमै कोअर्डिनेशन केन्द्रसँग सम्पर्कमा रहेका उनी २०३६ सालमा बहुदलीय व्यवस्था प्राप्तिका लागि भएको आन्दोलनमा समेत सहभागी भए ।

२०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्व गर्दै आन्दोलनलाई विजयको शिखरमा पुर्याउन सफल भएका पाण्डेले २०६० देखि २०६२÷२०६३ सम्म निरंकुश राजतन्त्र तथा प्रतिगमन विरोधी आन्दोलनमा आन्दोलन परिचालन कमिटीको सचिवका रुपमा काम गरे ।

पाण्डेले २०३१ सालमा १७ दिन, २०३२ सालमा ४२ दिन, २०३३ सालमा १ वर्ष, २०३७ सालमा शिक्षक आन्दोलनमा सहभागी हुँदा २८ दिन, २०३८ सालमा ३६ दिन, २०४२ सालमा ९ महिना, २०४४ सालमा जनपक्षीय जिल्ला सभापतिको हैसियतमा भण्डाफोरको नीति अन्तर्गत फाल्गुण ७ गते भाषण गर्दा राजकाज मुद्दा खेपेर १७ महिना जेल जिवन बिताएका छन् ।

स्थानीय विकास मन्त्रीदेखि संसदीय जिम्मेवारीसम्म
२०४३ सालमा राष्ट्रिय पञ्चायतको जनपक्षीय उम्मेदवार बनेर निकटतम प्रतिस्पर्धी बनेका पाण्डे २०४४ साल वैशाखमा जनपक्षीय जिल्ला पञ्चायत सभापतिमा निर्वाचित भए । २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट लगातार ३ पटक निर्वाचित भएका उनले २०५१ देखि २०५३ सालसम्म संसदीय दलको सचेतक र २०५३ देखि २०५५ सालसम्म प्रमुख सचेतकको जिम्मेवारी निर्वाह गरेका छन् ।

२०६३ जेठ ८ देखि २०६३ चैत १८ गतेसम्म स्थानीय विकासमन्त्री बनेका पाण्डे २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट निर्वाचित भए । २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित भए । २०७४ साल भदौ २६ गतेदेखि भने उनी नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा छन् । संसदीय दलको नेता हुँदै नेता पाण्डे बागमतीको मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्