काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)मा १०औं महाधिवेशनको सरगर्मी बढेको छ । एमालेको आज बसेको स्थायी कमिटी बैठकले आगामी मङ्सिरमा हुन लागेको १० औं महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी हुने भएका छन् ।
ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले १५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुने छन् । भूगोल कमिटीहरूबाट कुल ११९६ जना प्रतिनिधि छानिने छन् ।
बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छानिने ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने र विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।