काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको मूर्ति अनावरण गर्ने कार्यक्रम छ ।
लुम्बिनी विकास कोष र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी भएर राष्ट्रपति भण्डारी मूर्ति अनावरण गर्नेछन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति गौतमबुद्ध विमानस्थलमा आज अनावरण गरिंदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो उक्त मूर्ति अनावरण गर्नेछन् ।
उक्त बुद्ध मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको छ ।
म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।
राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ११ बजेसम्म लुम्बिनी आइपुग्ने लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो ।