Logo
Logo

‘विधि र पद्धती स्थापना गर्न नसके कांग्रेस प्रजा परिषद्को बाटोमा जान्छ’


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । नेतृत्वले हेलचक्याई गर्दा कांग्रेस इतिहासकै कमजोर अवस्थामा आइपुगेको उनले बताए ।

आइतबार नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीको नेतृत्व र अवस्था सुधार आफूहरुले नै गर्ने बताउँदै नेता सिंहले भने, ‘पार्टीभित्रको समस्यामा कुरा हामीले नउठाए कसले उठाउँछ ? पार्टीको समस्या हामी आफै समाधान गर्ने हो,’ नेता सिंहले भने, ‘बाटो बिराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधि र पद्धतीको रक्षा हुन्छ ।’

नेता सिंहले कांग्रेसको इतिहास राम्रो छ भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताए । १३औं महाधिवेशनपछि कांग्रेस इतिहासकै कमजोर अवस्थामा आइपुगेको बताउँदै उनले अहिलेकै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ छ ।

पार्टीभित्रको बेथिति र विकृति अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उनको धारणा छ । विधि र पद्धतीको पालना गर्नुपर्छ भन्ने पार्टीले नै विधिको शासन मान्न छोड्यो भने जनताले विश्वास नगर्ने उनको भनाइ छ ।
‘देशमा लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा विधि पद्धती जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टीभित्र विधि पद्धतीको स्थापना गर्नुपर्दछ,’ उनले भने, ‘त्यसो गर्न नसके प्रजा परिषद्को बाटोमा नेपाली काँग्रेस जान्छ ।’

नेता सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफू तयार रहेको दोहोर्याए । पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागि आफू सभापति बन्नुपर्ने उनको तर्क थियो । पार्टीको तल्लो तहदेखि नै संघर्ष गर्दै आएकाले सबैको दुःख र संघर्ष बुझ्ने क्षमता भएको आफू एक्लो नेता भएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्