काठमाडौं । नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा अपरिहार्य रहेको बताएका छन् ।
आइतबार बार एसोसिएशनको अगुवाइमा भएको विरोध प्रदर्शनका क्रममा पत्रकारसँग कुरा गर्दै बरिष्ठ अधिवक्ता थापाले भने, ‘हामी अलि खुलेका छैनौँ, प्रधानन्यायाधीशलाई बडो सम्मानपूर्वक भनेका छौँ, अहिलेसम्मको भ्रष्टाचार, बेथिति, असक्षमताको जिम्मा तपाईले लिनुपर्छ ।’
थापाले न्यायालय भनेको पशुपतिनाथजस्तै पवित्र संस्था भएको बताउँदै प्रधानन्यायाधीश त्योभित्रको मुल भट्ट भएको बताए । उनले भने, ‘मुल भट्टले पूजा गर्नुपर्ने जुन विधि, प्रक्रिया हो, त्या अनुसार जसरी पशुपतिनाथको पूजा अर्चना गरिन्छ, तर, प्रधानन्यायाधीशले न्यायालयको पूजा गर्नुभएको छैन । त्यसकारण पदबाट राजीनामा दिनुपर्छ भनेका छौँ ।’
प्रधानन्यायाधीश जबराले न्यायालयमा विद्यमान दुषित प्रक्रियालाई बन्द गर्न नसकेको र सधैँभरि त्यसलाई टार्ने हिसाबबाट अघि बढेको वरिष्ठ अधिवक्ता थापाको आरोप छ । उनले भने, ‘इजलासमा म बस्दिनँ भनेर प्रधानन्यायाधीशले घोषणा गरेको मुद्दासम्म सुनुवाइमा राख्न सक्दैनन् भने यी प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको हैसियतमा हामीले मानिरहनुपर्ने कुरा छैन ।’
उनले सेवाग्राही जत्तिकै कानुन व्यवसायी पनि मर्कामा रहेको बताउँदै प्रधानन्यायाधीशलाई प्रश्न गरे, ‘अदालतका दुईवटा पाङ्ग्रामध्ये हामी एउटा पाङ्ग्रा हौँ । न्यायालयको संरक्षण गर्नु प¥यो भनेदेखि बारले गर्दछ, बारले नै जब तपाईसँग राजीनामा मागिसकेको छ भने तपाई को हो राजीनामा नदिने ?’