काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि पार्टीमा दुई जना अध्यक्ष बनाउने सहमति समेत भएको खुलासा गरेका छन् ।
१० बुँदे सहमती कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चासो नदिने र सो सहमतिको औचित्य नै सकिसकेको बताएपछि उपाध्यक्ष रावलले उच्चस्तरीय कार्यदलबाट आज लिखित राजीनामा दिँदै यस्तो खुलासा गरेका छन् ।
तर, असार २७ गते भएको १० बुँदे सहमतीमा दुई अध्यक्ष बनाउने बिषयमा उल्लेख गरिएको छैन । १० बुँदे सहमती कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि तेस्रो धारका नेताहरु एमालेमै बसेका थिए ।
सो सहमति कार्यान्वयन गर्ने स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरेर अपानी १२ जारी हुँदा समेत अध्यक्ष ओलीले औचित्यहीन भएको सार्वजनिक र बैठकमा समेत बोल्ने गरेकाले आफूले राजीनामा दिएको रावलले जनाएका छन् ।
रावलले बुझाएको राजीनामा पत्रको बुँदा नं. ४ मा भनिएको छ, ‘दश बुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्नको लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमति समेत भएको थियो । यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताकाबीच कुराकानी हुुनुका साथै साउन ६ गते अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रुपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’
सो सहमतिबारे नेपाललाई जानकारी गराउने तथा भोलिपल्टै दुईजना नेताहरुको बीचमा कुराकानीका लागि स्थान निर्धारण गर्ने जिम्मेवारी आफूले पाएको उनले दाबी गरेका छन् ।
सोही निर्णयबारे नेपाललाई जानकारी गराउनुका साथै कुराकानीका लागि स्थानको बारेमा कुरा भएको तर भोलिपल्ट पुष्पलाल स्मृति दिवस परेकाले दुवैजना नेताहरु कार्यक्रममा व्यस्त रहने स्थिति हुँदा कुराकानी हुन नसकेको उनले जनाएका छन् ।
पछिल्लो समय एमाले भित्र १० बुँदे कार्यान्वयन नहुँदा पार्टीभित्र विवाद चर्किदै गएको छ । पार्टीको १०औं महाधिवेशनको पूर्वसन्ध्यामा चर्किएको विवादले नेताहरुका बीचमा दुरी समेत बढाएको छ ।