Logo
Logo

संसद अधिवेशनबाट एमसीसी अनुमोदन नभएपछि निराश बन्यो अमेरिका


567
Shares

काठमाडौं । अमेरिकाले संसद् अधिवेशनबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएपछि निराश भएको संकेत गरेको छ ।

एमसीसी सम्झौता संसदबाट पारित गरेर अगाडी बढाउने वा नबढाउने निर्णय गर्ने अधिकार नेपालकै रहेका उसले स्पष्ट पारेको छ । नेपालको संसद् अधिवेशन कात्तिक १२ मा अन्त्य भएकै दिन वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अगाडि बढाउने कि नबढाउने अधिकार नेपालकै भएको जनाएको छ ।

संसद्बाट सम्झौता अनुमोदन गर्नका लागि भएको ढिलाइले अनुदान सहयोगबाट २ करोड ३० लाखभन्दा बढी नेपालीलाई भरपर्दो ऊर्जा र सुरक्षित सडक पहुँच पुरयाउने महत्वपूर्ण सहयोग जोखिममा पारेको एमसीसी मुख्यालयको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकार र एमसीसीबीच नेपालको उर्जा पूर्वाधार विस्तार र सुरक्षित सडक निर्माण क्षेत्रमा सन् २०१७ मा ५० करोड अमेरिकी डलर अनुदान सम्झौता भएको थियो । तर एमसीसी सम्झौता संसदबाट पारित गरेर कार्यान्वयन गर्ने की नगर्ने भन्ने बिषयमा नेपालका राजनीतिक दलहरु विभाजित छन् ।

सत्तारुढ नेपाली कांग्रेसले संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । यस्तै नेकपा (एमाले) सरकारमा भएको बेला पारित गर्ने पक्षमा रहेको थियो । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरुले सर्तहरु संशोधन गरेर मात्रै कार्यान्वयन गर्नुपर्नेमा रहेका छन् ।

गत सेप्टेम्बरमा एमसीसीको वरिष्ठ प्रतिनिधि मण्डल (एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेतृत्वमा) को नेपाल भ्रमणबारे समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त भ्रमणले एमसीसी–नेपाल सम्झौताका बारेमा स्पष्टिकरण प्रदान गरेको उल्लेख छ । नेपाल सरकारबाट हालै भएका प्रतिवद्धताहरू र समर्थनले सम्झौतालाई अघि बढाउन स्पष्ट बाटो तय भएको पनि विज्ञप्तिमा भनिएको छ ।

सुमार नेपाल आउनुअघि एमसीसी सम्झौताका सम्बन्धमा उठेका शंकाहरूका बारेमा नेपाल सरकारले पठाएको प्रश्नको जवाफसमेत नेपाललाई पठाइएको थियो । सो जवाफमा नेपालका राजनीतिक दलले सर्त संशोधन गर्न माग गरेपछि एमसीसी मुख्यालयले अस्वीकार गरेको थियो ।

नेपालको संसद्को अधिवेशन एमसीसी सम्झौताको अनुमोदनविना कात्तिक १२ गते अन्त्य भएसँगै लाखौं नेपाली घरपरिवारलाई थप लाभ पुर्याउन ढिलाइ भएको एमसीसीले जनाएको छ । ‘यद्यपि, गठबन्धन नेताहरूले कम्प्याक्टलाई अनुमोदन गर्न आवश्यक कदमहरू बुझेका छन्, जुन नेपालको कानुन अनुसार आवश्यक छ,’ विज्ञप्तिमा छ ।

एमसीसी मुख्यालयको विज्ञप्तिमा ७० वर्षभन्दा बढी समयदेखि अमेरिका र नेपालले साझा मूल्य मान्यता, लोकतान्त्रिक आदर्श र विश्वासमा आधारित साझेदारी कायम गर्दैआएको उल्लेख छ । साथै सन् २०१५ को भूकम्पपछिको विपद् सहायतादेखि हालसम्म १६ लाख कोभिड–१९ खोपको सहयोगसहित कोरोना भाइरसको महामारीमा अमेरिकाले नेपाललाई सहयोग गरेको उल्लेख छ । एमसीसी सम्झौता आर्थिक वृद्धिमार्फत् गरिबी न्यूनीकरण गर्न अमेरिका र नेपालबीचको बलियो साझेदारीको निरन्तरता रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्