विराटनगर । प्रदेश १ मा विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरेको छ ।
आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राईलाई अघि सार्ने निर्णय गरेको हो ।
यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गरेपछि कात्तिक ७ गतेको लागि तय भएको हालका मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतमाथिको मतदान नै स्थगित भएको थियो । आचार्यको विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची छ ।
नेपाली काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीले आलोपालोको दावी नेपाली काँग्रेसको आन्तरिक विषय भएको भन्दै आचार्यले विश्वासको मत गुमाएपछि बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए ।
गठबन्धनले केन्द्रीय तहबाटै प्रदेश १ मा समाजवादीको नेतृत्वमो सरकार बनाउने सहमति यसअघि नै गरिसकेको थियो । तर, शेखर कोइरालासहितका काँग्रेसका केहि नेताले प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने अडान राखेपछि काँग्रेसले अघिल्लो साताको लागि तय भएको मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक नै स्थगित गर्न निवेदन दिएको थियो ।
काँग्रेसको निवेदनपछि सत्तारुढ नेकपा एमालेले पनि प्रदेशसभाको बैठक कात्तिक १५ गतेसम्म सार्न निवेदन दिएकोमा सभामुख प्रदिपकुमार भण्डारीले त्यसलाई सदर गर्दै बैठक स्थगित गरेका थिए । सत्तारुढ गठबन्धनमा काँग्रेसले गरेको आधाआधा नेतृत्वको दावीलाई गठबन्धनको केन्द्रमा जानकारी गराउने सहमति भएको छ ।
प्रदेशसभामा सत्तारुढ नेकपा एमालेको बहुमत नरहेकोले मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत नपाउने करिब निश्चित छ । त्यसपछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढि दलको सरकार बनाउने आह्वान गर्नेछन् । लगत्तै गठबन्धनले राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै प्रदेश प्रमुखकोमा हस्ताक्षर बुझाउने भएको छ ।
गठबन्धन बैठकले मन्त्रालय भागबण्डा र काङ्ग्रेसले दाबी गर्दै आएको आधा कार्यकालका विषयमा मुख्यमन्त्री नियुक्तिपछि छलफल गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । गठबन्धन बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्न सबै दलहरुले सांसदहरुलाई ह्विप जारी गर्ने भएका छन् ।
९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । सभामुख र एक जना फरार अभियुक्त रहेकोले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।
गठबन्धनमा रहेको काङ्ग्रेसँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन ।